Skip to main content

'आमा मलाई बिर्स ' - प्रेम पुन्थोकी



“............. मैले घरपरिवार , बुवाआमा , दाजभाई र आफन्त त्यागेर आउन सकें भने तिमीले पनि त्याग्न सक्नुपर्छ .......” जुनी रिसले कट्कदै थिई । उसको बोलीमा कुनै नरमपना थिएन । कठोरताले बहकिएुुर निस्किएको आवाज मेरो मुटुमा नराम्ररी गढ्न आइपुग्यो । मेरो सहनशिलताको पर्खाल नराम्ररी ढल्न पुग्यो । सायद आवेश रोक्न सकिन मैले । मेरै अगाडी फत्फताईरहेकी उसलाई दायाँवायाँ नसोची दुई झापड हिर्काएँ । हुन सक्छ मैले बोल्ने शब्द भेटाईन या उ चाहिने भन्दा बढी बोली , त्यो मुल्यांकनको अर्काे पाटो थियो । जुनी नराम्ररी रोइ , झापडको पिडाले रोइ या चित्त दुखाईले रोई । आज सम्म उसलाई  हात छाड्न त के चर्को बोली समेत बोलेको थिएन मैले । त्यो पल साविक भन्दा धेरै परको परिवर्तन मैले केही क्षण पछि महशुस गरें भने सायद रुवाईको घुम्टो भित्रकी जुनीले पनि सोंच्दै हुँदी हो । उ अर्को पट्टि फर्किइ म अर्को पट्टि फर्केर बसें । विगत का पाना फरफरर्ती एकाएक स्मृतीको हुरीले फर्काएर ल्यायो । चार बर्ष लामो प्रेम सम्बन्धको अन्तरालमा प्रणयसुत्रमा बाँधिएको हाम्रो सम्बन्धमा मैले उसलाई धेरै नजिक बाट बुझेको थिएँ , मेरो वास्तबिकता बाट उ पनि दुरीमा थिइन ।

        जातीय बिभेदको गहिरो पर्खालको बिच रहेका उ र म आपसी प्रेम भन्दा महान् केही संझेनौं र केही पनि तगारो बन्न सकेन उसबेला । उसले पटक पटक भन्ने गर्थी “ प्रबिण तिमी मेरो सबै हौ , जातीय आधार खडा गरेर मेरो खुसी खोस्न चाहन्छन् भने जन्म दिँदैमा मेरा बुवाआमा ले मलाई छोरी भनिरहन आवश्यक ठहर्ने छैन, मैले उनिहरुको खुसीको लागि र यो अन्धबिश्वासी समाजको कथित संस्कार , परम्पराको नाममा आफ्नो खुुसी चढाउन चाहन्न , प्लिज मलाइ यो पापी समाजको नाङ्गो आँखाले नभेट्ने ठाँउमा लैजाउ ...” । पटक पटक उसको यही आग्रह दोहोरिरहन्थ्यो । आखिर हामी एक आपसमा छुटिने अबस्थामा थिएनांै । प्रेम गर्न नडराउने हरु अनेकन जोखिमता वहन गर्न सक्नु पर्ने वास्तबिकता बाट हामी पनि अछुतो रहन सकेनौं ।  जिम्मेवारी निर्वाह गर्ने मामलामा कति सक्षम थियौं , आफैलाई थाहा थिएन । तर एक दिन निशाको बन्धनले प्रभातको लाली चुम्नु अगावै जुनी र म शहर पस्ने गाडी छोपिसकेका थियौ ।
      कहिले काहीँ सामान्य सन्चो बिसन्चोको खवर आदान प्रदान बाहेक पुर्णतया सम्पर्क शुँन्यता थियो घर परिवार सँग तर मलाइ घरको यादले बखत बखत नराम्ररी तड्पाउँथ्यो मात्र बाहिर पुष्टाउदैनथें , थाह थिएन जुनी कत्तिको घरको यादमा डुब्थी । सके सम्म घरको माया मनमा च्यापेर जुनीलाइ खुसी राख्ने कसरतमै जुटेको थियो यो २ बषृको समय । अकस्मात आज बिहान अफिस जाँदा मेरो सानै देखीको मिलनसार साथी रमेश संग भेट भयो । उसले भन्दै थियो , “ तंँ त कति परिवर्तन भएछस् प्रबिण, खै के के अभाव भए जस्तो देखेँ तँ मा , साँच्चै तँ किन पुरानो प्रबिण रहिनस् हँ ? मैले उत्तर छोट्याउने प्रयासमा रहेँ र भनेँ “ खै रमेश , व्यवहारिक जिन्दगीमा बाँधिदा प्रत्येक प्रबिणहरु यस्तै हुँदा रहेछन् , सायद प्रबिणको ठाँउमा भएको भए प्रत्येक रमेश हरु पनि यथायिस्थितिमा रहँदा थिएनन् होला । बरु भन् घर तिरको खबर के छ ? उसले भाव बदल्दै भन्यो , खै प्रबिण तँ त गाउँ छाडि हालिस् , त्यस्तै छ गाँउको परिवेश तँ जस्ता आशाका ताराहरु पलायन भएपछि त्यसै परिवर्तनको आशामा हारेरै भएपनि बसिरहेछ गाँउ । हिजो मात्रै तेरो घरमा गएर काकीलाई भेटेको थिँए , मलाई देखेर साह्ै रुनुभो , छोरा जस्तै लाग्छ बाबु तँलाई भन्नु हुँदै थियो । छोरो ले माया मार्यो छोरा बुहारीलाइृ एक पटक देखेर मर्न पाए हुनेथियो भनेर बिलौना गर्दै हुनुहुन्थ्यो । काका बिरामी छु भन्दै हुनुहुन्थ्यो ,काकी पनि साहृै दुब्लाउनु भएछ आजकल , सायद चिन्ताले होला , तैँले यसो फर्किएर पनि हेरिनस् ।
         आज रमेश सँगको भेट पछि ममा के परिवर्तन आयो म छुट्याउन सकिन । घरको यादले नराम्ररी सतायो । बुवाआमा को अबस्था कल्पना गरेर मुटु भित्रै देखि कुडिएर आयो , कता कता छोरो हुनुको दायित्वबोध भए जस्तो भयो । यति छिट्टै घर फर्कन नसके पनि रमेशसँग केही पैसा र कोशेली घर पठाँउ भनेर जुनीसँग मन पोख्दा सान्त्वना र ढाडस नदिई उल्टै गरी नानाथरी कुरा गर्दा त उसँग रिस उठ्यो । जुनी रोइनै रहेकी थिइ भने मेरो पनि रिस शान्त भैसकेको थिएन । कता कता भित्तामा सजिएको बुवाआमाको तस्विरले मलाई धिक्कारी रहे जस्तो मानें , मातृस्नेहको ओत भित्र कुनै अभाव  महशुस हुन  नदिइ हुर्काए । मेरै भबिश्यका लागि पसिना खर्चे , दुखको प्रवाह गरेनन् , सुखको कल्पना गरेनन् ।   अभावको प्रतिकार गरे मेरो लागि । सायद त्यो समय जे छ त्यो सबै सबै ममा देखे । म एक साँझ गएर एक छाक खाना घरमा नखाँदा चिन्ताले भोकै कस्ने मेरो आमा सँग आज २ , २ बर्ष टाढा रहँदाको पिडा कस्तो होला ? मनमा सानै देखी आमाले दर्साएका मायाका बिगतहरु तछाडमछाड गर्दै बिस्तृत भए जस्तो लाग्यो । बुवाआमालाई छोरो बुढेस्कालको सहारा बन्छ भन्ने आशा हुँदो हो । आर्दश बुवाआमा बनेर नाति नातिनी सँग पिँढीमा बसेर हजुर बुवा हजुरआमा को भुमिका निभाउने मन हुँदो हो तर आज ...................। मनमा धेरै कुरा खेल्दा खेल्दै तप्प आँशू चुहिए ।
       पुन ः जुनी तिर नियाँलें, उ अगाडी बोलेका कुरा पुनरावृत भए “............. मैले घरपरिवार , बुवाआमा , दाजभाई र आफन्त त्यागेर आउन सकें भने तिमीले पनि त्याग्न सक्नुपर्छ .......” । अहँ म स्विर्कान सकिन यो तथ्य तर यसो सोँच्दा जुनी लाई पनि कसरी नराम्रो भनँु , हुन पनि हो उसले पनि जन्म दिने बुवाआमाको अर्ति काटेर हिँडेकी थिइ , दाजुभाइको सम्बन्ध बिर्सन तयार थिइ , उ पनि नारी न हो कोमल मनको खानी , थोरै कठोरता मिसिएको हुन सक्छ त्यो कोमलतामा आज । उसले मलाई र्सवस्व ठान्न सकी , प्रत्येक तीज तिहारहरु मेरै काखमा रमेर भुल्न सकी बिवस्ता ले सहजता ले या त बास्तविक परिस्थितिले जे कोही हुनसक्छ , आखिर उसले मलाई आफ्नो सम्पुर्ण ठानेको यर्थाथ त अकाट्य नै थियो । जुनी का दुःखःका आँशु नचुहाउने वाताबरण बनाउने कला सिक्दा सिक्दै अरु जिम्मेवारीलाई मैले अतिरिक्त ठाँने क्यार । हुन सक्छ मेरो मुहारमा खुसी ल्याउने प्रयत्नमा जुनीले पनि आफ्ना प्रत्येक प्रयास सर्मपित गरेकी हुनसक्छे । धेरै बेर पछाडी सम्म पनि जुनी गाह्रो मानी मानी रोहिरही , म बिरुद्ध कुनै प्रतिकारका शब्द उचालिन , खाली पिडा रुपी क्रन्दन छादे जस्तो गरी । बरु कुनै चर्को बोली बोलेर म माथि खनिएको भए म शान्त हुँदो हुँ  तर उसको मौनता रुपी रुवाइृले मलाई झनै लछार पछार पार्यो । माया भित्रै देखी भरिएर आयो , मेरो मनले मैसँग भन्दै थियो  , प्रबिण तँ किन मौन छस् फका तेरी जुनी लाई उ तेरै न्यानो मायाको खोजीमा छे । म जुनीको नजिक गएँ , जुनी ठुस्किए जस्तो गरेर पर पर सरी म झनै नजिक सर्दै गएँ । मायाले केश राशी सम्हाल्दिदै भनें “ काली त्यती गाहृो मान्ने हो यति सानो कुरामा पनि , आखिर तिमी नै त हौ बिस्वासको साथी , माया गर्नेले कहिले काहीँ ..................।”  सुक्क सुक्क गरीरहेकी जुनी मेरो कुरा पुरा हुन नपाउँदै मेरो काखमा लाडिदै भनी , प्रबिण भन त आखिर तिमी सँग नरिसाएर म को सँग रिसाउने ? मेरो  सुख , दुः ख को बिसौनी तिमी भए पछि कहिले काहीँ रिसाउन पनि नपाउने ? ” बल्ल बल्ल रुन्चे हाँसो छाड्दै उसले भनी । त्यस बेला उसको हाँसो भित्र , बोली भित्र मैले मेरो संसार देखें , मेरो जीवन देखें , मेरो जिउने आधार देखें ,सबै उसैमा देखें एकाएक रिस मरेर गयो , मेरा प्रत्येक अभावहरु उसैले सुरक्षित राखेकी छेकी जस्तो लाग्यो । काखमा अडेस लगाएर पल्टेकी जुनीबाट आँखा हटाएर पारी भित्तामा बुवाआमाको तस्विर निँयालें । तस्विरले हामी तिरै हेरी हाम्रो खुसीसँगै , छोरा तिमीहरुको प्रत्येक  खुसीसँगै हामी पनि रमेका छौं ” भनेर हाँसे जस्तो लाग्यो । च्याप्प जुनीलाई कसिलो हुने गरि काखमा तानें बुवाआमा को तस्विर तिर नियाल्दै मनमनै भनें “ आमा मेरो यादमा नतड्पनु , अब तिम्रो छोरो छोरो मात्र रहेन , कसैको पोल्टामा परिसक्यो । तिम्रो माया भन्दा अरु कसैको मायामा रमाउन थाल्योे , आमा मलाई माफ गर तिम्रो छोरोलाई चलाउने साँचो कसैको हातमा परिसक्योे , आमा सक्छौ भने मलाई बिर्स नसके पनि बिस्तारै बिर्स म बिस्तारै बिर्सने कसरत गर्दै छु भने तिमि पनि ...............आमा मलाई बिर्स , बररर आँखा बाट आँसु बहन थाले । जुनीले आँसुको ब्याथा बुझी कि नाँइ नरम हातले आँसु पुछिदिदै थिई काखै बाट.........। समाप्त ।।

Comments