Skip to main content

हैसियत नभएको म - प्रेम पुन्थोकी


अब ‘हैसियत–३’ निस्कदैछ, सामाजिक संजालबाट योजना सार्वजनिक गर्दा सायद पुष्पदाईलाई फोन गर्नेको लिस्टमा म पनि दश भित्र पर्छु होला । पुष्पदाईलाई म कम्तिमा गजलको हकमा आफ्नो गुरु र प्रेरणाको स्रोतका रुपमा लिन्छु, केही बर्ष अगाडि गजलगंगामा समेटिएको मैले यस पटक हैसियत–३ छुटाउन हुन्न भन्ने मनसायले फोन गरिहालें ‘दाई मैले पनि सृजना पठाउँदै छु’ । धेरै समय पछिको सम्पर्कमा निकै मायाका साथ दाईले मलाई रचनाको स्वागतका लागि आतुर भएको जानकारी दिनुभयो । देशभरका स्रष्टा समेटिने लक्ष्य, बिदेशमा रहेका स्रष्टाको समेत सहभागिता हुने र पेजका हिसाबले कम्तिमा हजार पेज । सृजना आफैमा बलिया हुने कुरामा के संकोच रह्यो र त्यस माथि पुष्पदाईको संयोजन र सम्पादन । २०६१ देखी गजल लेख्न थालेको मैले २०६३ सम्म अर्घाखाँचीमा उपलब्ध तत्कालिन स्रष्टाको भिडमा संख्याको हिसाबले सबै भन्दा बढि गजल लेख्ने म थिएँ हुँला ( अरु भएको भए पनि अन्थया नलिइदिनुहोला ) त्यस बेला मैले दुई बर्षको अबधिमा लेखेका हजारको नजिक गजल थिए । उतिबेला गजल अग्रजहरुले भन्नुु हुन्थ्यो, अहिले गजलको बाढी आएको छ , बाढीमा जे पनि मिसिन सक्छ । लाग्थ्यो कतै म पनि त्यसै भित्र पो छु कि ? संधिखर्क मै रहँदा बुटवलबाट प्रकाशित हुने दैनिक पत्रिका र पाल्पामा बज्ने एफ.एम हरुमा रचनाहरुले राम्रै चर्चा पायो, भनौं त्यसबेला त्यस क्षेत्रमा गजलमा कलम चलाउनेको नाममा मेरो नाम कसैले नविर्सने भयो । त्यसबेला मैले गजल लेख्दा कहिल्यै गजलको गुणस्तरियता र शब्द संयोजनलाई ख्याल गरिन । रदिफ र काफिया सबै भन्दा ठुला कुरा भए । यति सम्म कि क्याम्पसमा एक बिषय पढ्दा मेरा दुइ गजल सम्म जन्मिए । संधिखर्कमा साहित्यिक पत्रिकाको लहर चलेको थियो, त्यसै बेला गजलको पनि लहर उत्तिकै थियो । छातीमा हात राखेर भन्छु , मैले गजलको त्यो बाढीमा फस्दा कोही गुरु नै थिएन , हुन सक्छ मैले गुरु बनाउन पनि खोजिन । अहिलेको जस्तो सामाजिक संजालको बिकाश थिएन, बाहिर तिर प्रकाशित केही कृति हुलाकको बाटो हामी सम्म आउँथे । जति ठाउँमा चिन्छन् तिनले निकालेनन् होला जसले कृति निकाले तिनले मलाई चिनेनन् होला मैले त्यो सौभाग्य पनि पाइन । दुई बर्षको संधिखक बसाई पछि घर लागियो । देशमा राजतन्त्र ढाल्ने आन्दोलन चलेको थियो । सदरमुकाम केन्द्रित आन्दोलनले गाउँमा  कमै छोयो । सडकमा गणतन्त्रका लागि रचना बाचनका समाचार आउँथे, मनमा रहर जाग्थ्यो, संख्या एकिन भएन करिब ४० देखी ५० ओटा गजल लेखेर सडकमा बाचन गर्ने योजना बनाँए । घर देखी ५ घण्टा पैदल दुरीको सदरमुकाममा आन्दोलन गर्न जान घरबाट अनुमति मिलेन । जुन उद्धेश्यका लागि ति गजल लेखेको थिएँ, ति काम नलाग्ने भए पछि मन यत्तिकै मर्यो ।
   स्नातक अध्ययनको लागि बुटवलमा झरियो । केही गजल लेखनका दिग्गजहरुसँगको हिमचिम बढ्यो । साहित्य सँग सम्बन्धित किताबहरु पढियो । मासिक जमघटमा जुटियो । तत्कालिन समयमा गजलको अभियानमा जुटेका घनश्याम गुरु, निर्मल ढुंगाना, गोर्खेदाई, पुष्पदाई लगायतसँग प्रत्यक्ष परोक्ष सम्पर्कमा पुगियो । गजल लेखनका तरिका, कमजोरी सबै पत्ता लगाइयो । सायद त्यही नयाँ सिपले थियो या त आफै परिपक्क बन्दै जाँदाको प्रभावले थियो मेरा ति सृजना मलाई एक पनि चित्त बुझेनन् । एकिन छैन कति डायरी थिए, कति संख्यामा गजल थिए, आफैलाई चित्त नबुझ्दा मेरो बेवास्तामा परे, जुन मसँग अहिले छैनन् (घरमा कतै कुनामा हुन सक्छन् या नहुन पनि ) । मैले आफुलाई कमजोर संझदै लगें त्यसै बेला झनै शास्त्रिय बहरका गजलको खुब चर्चा हुन्थ्योतर म न त शास्त्रिय लेख्ने कोशिष गरें, न त मलाई मन पर्यो । त्यो समयमा गजल शास्त्रिय मात्र हुनुपर्छ भन्ने गलत हो भन्ने मान्छे पुष्पदाई जसले मेरै पक्षमा बोले जस्तै लाग्थ्यो । शास्त्रिय त लेखिन लेखिन झ्याउरेमा कलम चलाउन पनि मलाई अल्छि लाग्यो । मैले आफु बाढिसँगै सुकें भन्ने लगभग ज्ञात भयो । मलाई जनिकबाट निरन्तर झक्झकाउने मेरी आत्मिय साथी निरु अर्यालको सामिप्यताले केही लेख्थें तर जागिरमा लागेर देश दौडाहामा लागियो क्रमश कलम बन्द जस्तै भयो ।
    सामाजिक संजालको प्रयोग बिस्तारै बढ्दै थियो । अब बिश्व भित्र हामी सबै एकै ठाउँ थियौ । कसले के लेख्यो सबैले पढ्न सक्ने अवस्था थियो । सबैको सक्रियता देख्दा लेख्नुपर्छ त लाग्यो र हल्का लेखियो पनि तर ति सबै आफ्नै चित्त बुझाउन फेल भए पछि हत्या गरिए । अब शुरुको बिषयमै प्रवेश गरें । पुष्पदाईसँग कुरा गरेपछि म गजल लेख्नमा लागें फागुनको पहिलो हप्ता दाईलाई फोन गरें दाई मैले लेख्दै छु है, पुराना के पठाउनु यति बिशिष्ट कृतिमा मिठास भर्नै पर्यो । दाईलाई फागुन १५ सम्मको भाका राखें तर म्याद त मसान्त सम्मै थियो । भाका टुंगियो मनले मिति सारेर अन्तिम सम्म पठाउने तयारीमा लागें । अरु बेला व्यस्त पठाउने कुरा संझिदा लेख्न खोजिँदो रैछ । कहाँबाट त्यसरी शब्द फुथ्र्यो तर लेख्नै पर्ने थियो । दाईसँग झुट हुन्छु कि भन्ने त्रास थियो । कनिकुथी नयाँ पुराना जोड्दा १२ बटा फाइनलमा गए तर मेरो मन कुनैले पनि छुन सकेका थिएनन् । सायद म बढि जान्ने समिक्षक पो बनें की मेरा सृजना म बाटै अस्विकृत थिए । अब रह्यो पठाउने कुरा , खै कसलाई हो स्टाटसको कमेण्ट बक्समा पुष्पदाईले भन्नु भएको थियो ‘सबैका रचना उत्कृष्ट हुन्छन् , सबै रचना फरक मिठासका हुन्छन् र उत्तिकै सम्माननिय पनि।’ दाई आज त्यही तपाईको यो बिचारबाट डराएर  तपाईको भाईले हैसियत–३ को लागि रचना पठाएन । मलाई थाहा छ , दाईले मेरा सृजनालाई औधी माया गर्नु हुनेछ । म प्रतिको बलियो बिस्वासले पनि मेरा गजल हैसियत–३ मा अटाउने छ । तर दाई म आफुबाटै अस्विकृत रचना म कसरी यति उत्कृष्ट कृतिमा देख्न सक्छु । म मेरो कारणले हैसियत–३ बिग्रिएको हेर्न चाहन्न । म हैसियत–३ ऐतिहासिक बनोस् भन्ने चाहान्छु । म उत्कृष्ट रचना नलेखुँला तर साहित्यलाई माया गर्ने र पढ्ने मान्छे हो । यो ऐतिहासिक अबसरमा सहभागी हुन नसक्दा मुटु कम्ति दुखेको छैन । आफैमा हराउदै गएको सृजनशिलता र बढ्दै गएको अल्छिपनले आफैलाई धिक्कारी रहेको छ । पुष्पदाई यो सजाय म आफैले भोग्नुपर्छ , यो स्थितिमा म मात्रै हैन मेरा धेरै दमाली एउटै लाइनमा छौं । म चाहान्छु, दाईका इन्बक्समा भित्रिएका हरेकका रचनामा भेटेका अल्छिपनलाई झापड दिन कम्तिमा ति दाईबाट अस्विकृत हुनुपर्छ । गजलको भावनालाई सलाम गर्ने जो कोहीले त्यसलाई गलत सम्झने छैनन् । मैले मेरा सृजना जति बेला मिठो जस्तै लाग्ने र प्रतिष्पर्धामा दौडन सक्ने ल्याकत राख्ने बनाउँछु त्यति बेला हैसियत–४ अथवा कुनै यस्तै नाममा भित्रने छु । हैसियत–३ अटाउने हिम्मत नगरेकोमा हैसियत प्रकाशनमा जुटेको सम्पुर्ण टिमसँगै क्षमा चाहान्छु । साहित्य र कलमजिवीहरुलाई गर्ने मायामा कुनै कमि हुन नदिने प्रतिज्ञा गरें ।
-प्रेम पुन्थोकी

Comments